काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीको सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। बिहिबार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल)ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
गाउँपालिकामा उद्यम तथा व्यवसाय गर्न चाहनेलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ। गाँउपालिकाले सिफारिस गरेकालाई बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ।
कार्यक्रममा बागमती प्रदेशसभाका माननीय सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउन कर्जा कार्यक्रमले सहयोग गर्ने बताए।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस्तो सम्झौताले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असुलीमा सघाउ पुग्ने उल्लेख गरे। गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल)ले सहुलियतपूर्ण कर्जा युग परिवर्तनको अवसर हुने उल्लेख गरे।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाँउपालिकाका उपाध्यक्ष दिर्व सिं मुक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।