सिमकोट–हुम्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आज बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ।
लामो समयको लकडाउनपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ। कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो। सम्बन्धित गाउँपालिकाले आफ्ना मातहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।
नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ। नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो।


कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पु¥याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए। जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ। यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टाइनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भए थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए।
नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्न सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।