काठमाडौं– खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका तथा देशभित्रै रोजगारी गुमाएका युवाहरुलाई गाउँमै आकर्षित गर्ने कार्यक्रम सुरु गरेको छ।
पालिकाले बुधबार वैदेशिक रोजगारीबाट फर्किएका तथा देशभित्रै रोजगारी गुमाएका युवाहरुलाई कृषि उद्यमशीलता विकास तथा सुदृढीकरणका लागि आवश्यक सामग्री वितरण गरेको हो।
पालिकाको कृषि तथा पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रमअनुसार स्वीस सरकारको सहयोगमा ‘नेपाल कृषि सेवा विकास कार्यक्रम’ परियोजनाअन्तर्गत कोभिडका कारण समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएका तथा देशभित्रै रोजगारी गुमाएका युवाहरुलाई स्वरोजगार बन्न आबश्यक सामग्री वितरण गरिएको पालिकाले उल्लेख गरेको छ।
सो परियोजना अन्तर्गत कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका १० जना तथा देशभित्रै रोजगारी गुमाएका २० जना महिला तथा विपन्न बेरोजगार युवाहरुको उद्यमशीलता विकास तथा सुदृढीकरणका लागि आबश्यक सामग्रीहरु पालिकाले उपलब्ध गराएको हो।
उनीहरुलाई बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल, प्लास्टिक पोखरी, स्प्रेयर मल्चिङ, थोपा सिँचाइ, क्रेट, नर्सरी ट्रे लगायत सामग्री वितरण गरिएको हो। त्यस्तै ४ वटा समुहमा बहुउदेश्य मिल, ४ वटा थ्रेसर, ब्रसकटर मिनि पावर टिलर समेत वितरण गरेको पालिकाले जानकारी दिएको छ। बाख्रा पालन उद्यम विकासका लागि ५ वटा फर्मलाई च्यापकटर तथा ३ वटा नर्सरी सुदृढीकरणका लागि प्लाष्टिक पोखरी, एग्रोनेट प्लाष्टिक टर्नेल उपलब्ध गराइएको हो। कार्यक्रममा पालिकाका अध्यक्ष विश्वनाथ निरौला तथा उपाध्यक्ष पुष्पकला भुजेलको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।