फाइल तस्बिर काठमाडौं– सरकारसँग काम माग गर्दै ६ लाख ७५ हजार ८ सय ५५ बेरोजगार युवाहरुले आवेदन दिएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन इच्छुक ६ लाख ७५ हजार ८ सय ५५ युवाहरुले आवेदन दिएका हुन्। श्रम मन्त्रालयकाअनुसार यो संख्या २०७७ कात्तिक २९ सम्म आवेदन दिनेहरुको हो।
चालु आर्थिक वर्षमा २ लाख विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम रोजगारी दिने सरकारको लक्ष्य छ। तर रोजगारीका लागि आवेदन दिने बेरोजगारहरुको संख्या भने अत्यधिक छ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको संख्यामा नेपाली श्रमिकहरुले रोजिरोटी गुमाएका कारण बेरोजगारको संख्या बढ्दै गएको छ। तर देशभित्र कति युवाले रोजगारी गुमाए भन्ने तथ्यांक सरकारसँग छैन। यो तथ्यांक न त अन्य गैरसरकारी संस्थाहरुसँग नै छ।
बेरोजगार युवाहरुलाई सम्बोधन गर्ने गरी सरकारले उचित कार्यक्रम पनि ल्याउन सकेको छैन। प्रधानमन्त्री रोजगार कार्यक्रम, सरल कर्जालगायत कार्यक्रमहरु पनि उचित कार्यान्वयनको अभावमा प्रभावकारी बन्न सकेका छैनन्। जसकारण देशभित्र रोजगारीका उपयुक्त अवसर नहुँदा कतिपय बेरोजगार युवाहरु महामारीकै बीच भारत लगायत अन्य तेस्रो मुलुक जान सुरु गरेका छन्।
कोभिड- १९ का कारण कतिपय गन्तव्य मुलुकहरुले रोजगारीको बाटो खुल्ला नगर्दा बेरोजगारीले थलिएका युवाहरु मर्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।