काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सुरु हुन ५ दिन बाँकी रहँदा सुरक्षा तयारी पनि तीव्र बनाइएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन भारतीय सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीहरु नियमित छलफल गरिरहेका छन्। मोदीको सुरक्षामा नेपाली सेनालाई पनि खटाउन लागिएको छ।
आगामी शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमणको औपचारिक सुरुवात गर्ने तयारीमा रहेका मोदीका लागि ४ तहको सुरक्षा घेराको योजना बनेको छ।
यस्तो रहनेछ मोदीको सुरक्षा घेरा
भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको पहिलो घेरामा भारतबाट आउने उनका आफ्नै कमान्डो टोली र पिएसओ खटिनेछन्। मोदीको पिएसओ नेपाली सेनाले खटाउने तयारी गरेको छ। पहिलो घेरामा रहेने कमान्डो टोली हतियारसहित उपस्थित हुनेछ।
कमान्डोपछि नेपाली सेना र नेपाल प्रहरीको ‘कोर प्रोटेक्सन युनिट’ खटिनेछ। जसमा अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा दक्ष सैनिक तथा प्रहरी अधिकारीहरु हुनेछन्।
त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा रहनेछन्। सर्वसाधरण रहने बाहिरी घेराको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी संयुक्त रुपमा खटाउन लागिएको छ।
धनुषाका प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मोदीको सुरक्षाका लागि जनकपुरमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। जसमा नेपाल प्रहरीबाट मात्र करिब २ हजार २ सय तैनाथ रहनेछन्। त्यस्तै, सशस्त्र प्रहरी बलबाट १ हजार २ सय र नेपाली सेनाबाट करिब १ हजार सैनिक खटिनेछन्। राष्ट्रिय अनुसन्धान विभागबाट करिब ५० जना खटाउन लागिएको छ। थप प्रहरी रिजर्भमा समेत राख्न लागिएको छ।
मोदीका लागि काठमाडौं र मुक्तिनाथमा पनि जनकपुरमा जस्तै सुरक्षा घेरा बनाउन लागिएको छ।
आधा घन्टाको पूजा तयारी
नेपाल भ्रमणको औपचारिक सुरुवात जनकपुरबाट गर्न लागेका मोदीले जानकी मन्दिरमा करिब ३० मिनेट विशेष पूजा गर्ने कार्यक्रम रहेको जनाइएको।
पूजापछि मोदीले २ नम्बर प्रदेशका अधिकारीका साथै मन्दिरका पुजारीसँग कुराकानी गर्नेछन्।
जानकी मन्दिरको दर्शन, पूजापछि मोदीले जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा जनकपुरधाम उपमहानगरपालिकाले दिने नागरिक अभिनन्दन ग्रहण गर्नेछन्।
मन्दिरबाट बाह्रबिघासम्म जानका लागि भारतबाटै गाडी व्यवस्था भइसकेको छ। अभिनन्दन कार्यक्रममा उनले सम्बोधन गर्ने र जनकपुरका लागि सहयोगको घोषणा गर्ने तयारी रहेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।