काठमाडौं–कोभिड–१९ (कोरोना भाइरस) जोखिम नभएका तथा कम जोखिम भएका स्थानीय तहका विद्यालय आलोपालो विधिमार्फत् सञ्चालन गर्न पाउने भएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी यसरी विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको हो।
गत कात्तिक २२ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन कार्यविधि २०७७’ ले जोखिम मूल्यांकन गरी विद्यालय खोल्ने अधिकार स्थानीय सरकारलाई दिएको हो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयअनुसार देशैभरिका शिक्षण संस्था तथा तालिम केन्द्रहरु बन्द गरिएका छन्।
लकडाउनको अबस्थामा कतिपय विद्यालयहरु नै आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा समेत प्रयोग भएका छन्। यसबीच वैकल्पिक विधिबाट समेत कतिपय विद्यालयले अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् । तर अनलाईन प्रणालीमार्फत् सबै विद्यार्थीहरुको पहुँच पुग्न सकेको छैन।
अब जोखिम मूल्यांकन गरी आलोपालो (सिफ्ट) लगायत उपयुक्त मोडालिटी तय गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गराउन सक्ने भएका हुन्। विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एंव सुरक्षा सम्बन्धी मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्नेछ।
गत असोज २२ गतेको सरकारको निर्णयअनुसार सबै तहका परीक्षा सञ्चालन सुरु भइसकेका छन्। मंसिर ९ गतेदेखि १२ कक्षाको वार्षिक परीक्षा सञ्चालन हुँदैछ। सो परीक्षामा विद्यार्थीहरु जहाँ छन् त्यहीँ नजिकैको विद्यालयबाट परीक्षामा सामेल हुन पाउने गरी तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।