लमजुङ–लमजुङको दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मंगलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो। गुरुङको शव परीक्षणका लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको उनको भनाइ छ । त्यस्तै चार गम्भीर र सात जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा दोर्दी ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन् ।
त्यस्तै अन्य घाइते हुनेहरुमा सोही जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन्। घाइते ११ जनाको पनि जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ।
रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना भएको प्रहरी निरीक्षक पुनको भनाइ छ। उनका अनुसार जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।