काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलरले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्यान्डबीच सधैं सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले कोभिड- १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिएका छन्।
राजदूत क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्दै नेपालको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको बताइन्। साथै उनले नेपालका प्रधानमन्त्रीले सारेको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरेकी थिइन्।
उक्त शिष्टाचार भेटघाटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्यान्ड सरकारबीच स्थानीय सडक पूर्वाधार कार्यक्रमको लागि ९.८२ मिलियन स्वीस फ्र्याक (करिब १ अर्ब २६ करोड नेपाली रुपैयाँ)को प्राविधिक सहायता परिचालन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। सो सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्यान्ड सरकारकातर्फबाट राजदूत क्यापेलरले हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।