काठमाडौं– गाडीहरु थन्क्याएर सिन्डिकेटको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका केही व्यवसायी छुटेका छन्। अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने लिखित कागज गरेर केही व्यवसायी छुटेका हुन्।
लमजुङमा पक्राउ परेका तीन जना कागज गरेर छुटेका छन्। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार, पक्राउ परेकामध्ये तीन जना अबदेखि यातायातमा हडताल नगर्ने सर्तमा शनिबार तारेखमा छुटेका छन्। लमजुङमा पक्राउ परेका अन्य दुई व्यवसायी भने थुनामै छन्।
लमजुङ कालिका यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल र सदस्य रेशम दनाइँ तारेखमा छुटेका हुन्। पक्राउ परेकामध्ये समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी र सचिव मृगेन्द्र घिमिरे भने प्रहरी हिरासतमै छन्।
सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरी सार्वजनिक यातायात हडताल गरेका थिए। गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले केन्द्रीय उपाध्यक्ष, कृष्ण सुवेदी, महासचिव सरोज सिटौलासहित ७३ जना पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये केही कागज गरेर छुटेका छन्। कागज नगर्नेहरुलाई मुद्दा चलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।
यसैबीच, यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित महासंघका पदाधिकारीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वार, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालाई नयाँ वानेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
थप आन्दोलनको तयारी गरेपछि महासंघका पदाधिकारीलाई पक्राउ गरिएको बताइएको छ। कर्माचार्य यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक समेत हुन्।
यातायात समितिहरु खारेज गर्ने, देशभरि रुट परमिट खुला गर्ने लगायतको निर्णयविरुद्ध यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन्। उनीहरुले २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा ग्यारेजमा थन्क्याउने बताएका थिए। शुक्रबारको आन्दोलन विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि उनीहरुले आन्दोलनको समीक्षा गर्दै सुरक्षित अवतरण खोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।