काठमाडौं- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक कतार रोजगारी सिन्डिकेटको हल्लापछि म्यानपावर व्यवसायीहरुले नेपालका लागि कतारी राजदूतसँग भेटवार्ता गरेका छन्। बिहीबार व्यवसायीहरुले नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैल तथा कन्सुलर खालिफा अहम्दसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा राजदूत युसुफ बिन मोहम्मदले कतार रोजगारीमा सिण्डिेकट खडा गर्न लागिएको भन्दै विभिन्न सञ्चारमाध्यमा आएका समाचारहरुमा वास्तविकता नभएको बताएका छन्।
कतार सरकारले कुनै पनि सिन्डिकेटर्ला स्वीकार नगर्ने हुँदा सिन्डिकेटको हल्लामा कुनै पनि सत्यता नभएको राजदूत युसुफ बिन मोहम्मदले प्रष्ट पारे।
कतार रोजगारीमा नेपालस्थित कतारी दूतावास तथा कतार भिसा सेन्टरले विभिन्न १७ वटा म्यानपावर कम्पनी छनोट गरी सिन्डिकेट खडा गर्न लागेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाएका थिए।
उनीहरुले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिन्डिकेट बारे निवेदन समेत दिएका थिए। सोही निवेदनका आधारमा छानबिन गर्न समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।
समितिको निर्देशन बमोजिम श्रम मन्त्रालयले छानबिन समिति गठन गरी सिडिकेट गर्न लागिएका १७ म्यानपावर कम्पनीहरुलाई सोधपुछ गर्ने निर्णय समेत भइसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।