काठमाडौं– कतारस्थित नेपाली दूतावासले बंगलादेशी नागरिकलाई नेपाली ट्राभल डकुमेन्ट दिएको छ। बंगलादेशी नागरिक अजिजुर इस्लामलाई दुर्गाप्रसाद काफ्लेको नाममा ट्राभल डकुमेन्ट दिएको हो।
नेपाली डकुमेन्ट लिएर आएका अजिजुर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। सोधपुछका क्रममा उनले आफ्नो घर बंगलादेश भएको बताएपछि चेकजाँच गर्दा बंगलादेशी नागरिक भएको प्रमाण भेटिएको हो।
उनलाई अध्यागमन विभागले हिरासतमा राखेर बंगलादेश फिर्ता पठाउने तयारी गरेको छ। विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार, उनले आफू बंगलादेशी नागरिक भएको स्वीकार गरेका छन्। उनलाई अध्यागमन नियमावली अनुसार कारबाही पनि हुने उनले बताए।
दूतावासका प्रथम सचिव नितेश सापकोटाले उनको ट्राभल डकुमेन्टमा हस्ताक्षर गरेका हुन्। पासपोर्ट हराएपछि पैसा खर्च गरी नेपालको ट्राभल डकुमेन्ट बनाएर कतारबाट फर्किएको उनले बताएका छन्। बंगलादेशी नागरिकले कसरी ट्राभल डकुमेन्ट पाए भन्ने खुल्न सकेको छैन।
श्रीलंकन नागरिक पक्राउ
नक्कली पासपोर्ट लिएर आएका श्रीलंकन नागरिक पनि अध्यागमनमा पक्राउ परेका छन्। एयर एसियाको विमानबाट मलेसिया हुँदै नेपाल आएका श्रीलंकनलाई अध्यागमनले पक्राउ गरी निष्कासनको तयारी गरेको छ। युरोप छिर्न उनले ग्रिसको पासपोर्ट बोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।