बनेपा- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताएका छन्।
आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको ‘वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन’ कार्यक्रममा बोल्दै उनले राणा, पञ्चायत र राजा तथा प्रतिगमन फालेर त्यसको नेतृत्व गरेर जनताद्वारा अनुमोदित भएर आएको सरकारले त्यसो गर्न नसक्ने बताए। उनले पत्रकारलाई त्यसरी नसोच्न आग्रह गर्दै सरकारले गर्न लागेको राम्रो काममा सहयोग गर्न आग्रह गरे।
सरकारले श्रमजीवि पत्रकारका बारेमा सोचेको र सोसल साइड र अनलाइन मिडियाको परिभाषा खोजेको समेत उनले बताए। पत्रकारिताको नाममा केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाइने खालको कुरासमेत छाप्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो मिडिया मिडिया हुन नसक्ने तर्क गरे।
पछिल्लो चरणमा कर्पोरेट कल्चर विकसित हुँदै गएको र स्वरोजगार कल्चर कमजोर हुँदै गएको उनको भनाइ छ। राज्यमन्त्री बाँस्कोटाले अब सरकारले महिना मरेपछि श्रमजीवी पत्रकारले बैंकिङ प्रणालीबाट खातामा पैसा पाउनुपर्छ भन्ने कुरालाई अगाडि सारिएको उल्लेख गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।