नयाँ दिल्ली (एजेन्सी)- माइक्रोब्लगिङ साइट ट्विटरमा सर्वाधिक फलोअर भएका भारतीय हस्तीहरुमध्ये बलिउडका मेगा स्टार अमिताभ बच्चन पनि पर्छन्। तर उनलाई अहिले भएका फलोअरहरुको संख्यामा चित्त बुझेको छैन। उनले ट्विटर व्यवस्थापनसँग फलोअरको संख्या बढाइदिन एक पटक फेरि आग्रह गरेका छन्। फलोअरको संख्या स्थिर भइरहेपछि उनले यस्तो आग्रह गरेका हुन्।
अमिताभले शुक्रबार ट्विट गर्दै आफूले ट्विटरमा धेरै पोस्ट गर्दै आएको तर त्यस अनुसार फलोअर नबढेको गुनासो गरेका छन्। उनले फलोअरको संख्या बढाउन केही गर्नुपर्छ कि भनेर सोधेका पनि छन्।
उनले ट्विटमा लेखेका छन्, 'ट्विटर जी… अब त मेरो नम्बर बढाइदिनुस्… कति पहिलेदेखि यति धेरै पोस्ट गरिरहेको छु… फलोअर बढाउन अरु केही गर्नुपर्छ भने भन्नुहोस्।'
अमिताभको आधिकारिक ट्विटर ह्यान्डल सिनियर बच्चनको ३ करोड ४३ लाखभन्दा बढी फलोअर छन्। यसै साताको सुरुवातमा उनले ट्विटरमा फलोअरको संख्यालाई कसरी स्थिर राखिएको छ भन्दै कम्पनीको व्यवस्थापनमाथि प्रश्न उठाएका थिए। उनले त्यस क्रममा ट्विटर छाड्ने चेतावनी समेत दिएका थिए।
अमिताभ अभिनीत पछिल्लो फिल्म '१०२ नट आउट' मे ४ मा रिलिज भएको थियो। फिल्ममा उनको साथमा ऋषि कपुरको पनि मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।