फाइल तस्बिर काठमाडौं–संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
सोमबार बसेको समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका लागि केही म्यानपावर संस्थाहरु मात्र संगठित भई एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेकाले सो विषयमाथि छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।
विभिन्न १७ वटा म्यानपावरले एकाधिकार कायम गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै म्यानपावर व्यवसायीहरुले समितिमा निवेदन दिएका थिए।
ती म्यानपावर संस्थाहरुलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न श्रम समितिले श्रम मन्त्रालयलाई निर्देशन दिएको हो।
केही समय यता कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावर कम्पनीहरुले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाउँदै आएका छन्।
नेपालस्थित कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गर्न खोजेकाले तत्काल छानबिन हुनुपर्ने व्यवसायीहरुको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।