काठमाडौं- हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ अब हिमालय टिभीबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको सो टेलिश्रृंखला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु गरिने निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए।
‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं,’ निर्देशक कट्टेलले भने, ‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं।’
‘सक्किगोनी’ आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने बताइएको छ। शहरदेखि गाउँसम्म राति ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा ‘सक्किगोनी’ प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए।
‘सक्किगोनी टिमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौँ करोडौँ मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन्’, कार्यकारी निर्देशक कँडेलले भने, ‘यस्ता लोकप्रिय कलाकारहरुको टिमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’
हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्ने छ।
‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालिलाई अनुबन्ध गरिएको छ। सोमवार आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजनबीच उक्त सम्झौता भएको थियो।
हिमालय टेलिभिजनले पछिल्लो समय द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तर्राष्ट्रियस्तरमा सफल कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।