काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
विदेशस्थित नेपाली दूतावासहरुले कोरोना महामारीकाबीच कुनै पनि मागपत्र प्रमणीकरण नगरेको भन्दै आजकै मितिदेखि मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न श्रम मन्त्रालयले पत्राचार गरेको हो।
मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ।
नेपाली श्रमिकहरुका आकर्षक गन्तव्य मुलुकहरु साउदी, ओमान, युएई, बहराइन तथा केही युरोपेली मुलुकहरुमा समेत कोरोना कम भई व्यापार व्यवसाय सुरु भएका कारण ती मुलुकका रोजगारदाताहरु नेपाली श्रमिक लैजान इच्छुक देखिएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन्।
श्रमिकहरु पनि रोजगारीमा जान इच्छुक देखिएकाले मागपत्र प्रमाणीकरणको काम नरोक्न व्यवसायीहरुले प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन्।
गत भदौ १४ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण लामो समय स्थगन रहेको वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गरेको थियो।
गन्तव्य मुलुकले कामदारको माग गरेको अवस्थामा नेपाली श्रमिक पठाउने निर्णय भएको २ महिना बितिसक्दा पनि मागपत्र प्रमाणीकरणको काम सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।