काठमाडौं– सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध सरकार र व्यवसायीबीच टक्कर परिरहेका बेला फिल्महलहरुले समेत सिन्डिकेट लादेको भन्दै फिल्म निर्माताहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले शुक्रबार चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
आन्दोलनअनुसार उनीहरुले ४ गतेदेखि कुनै पनि फिल्म नचालने निर्णय गरेका छन्। जेठ १ गते चलचित्रकर्मीहरु विभिन्न हलमा कालोपट्टी बाँधेर उपस्थित हुने, २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्न दबाब दिदै धर्ना बस्ने र जेठ ४ गते देखि सम्पूर्ण सिनेमा हलहरूमा कुनै पनि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्माता संघका महासचिव तथा संघर्ष समितिका संयोजक रोज राणाले बताए।
फिल्म हलले निर्माताहरुको शोषण गरेको निर्माताहरुको आरोप छ। नेपाली फिल्म हलमा चल्दा पहिलो हप्ता आम्दानीको ५०÷५० प्रतिशत बाँडफाँड हुने गरेको छ। दास्रो हप्ता हलवालाले ६० प्रतिशत राख्ने गर्दछन् भने तेस्रो हप्तादेखि हलवालाले आम्दानीको ७० प्रतिशत राख्दछन्। पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा नेपाली फिल्म हेर्न दर्शकहरु धेरै आउँने भएकाले निर्माताहरुहरुलाई अन्याय हुने संघर्ष समितिका संयोजक राणा बताउँछन्। जतिसुकै हप्ता चल्दा पनि व्यापार ५०÷५० प्रतिशत बनाउनुपर्ने निर्माताहरुको माग छ।
निर्माताहरुको आन्दोलनमा हलहरुले समेत साथ दिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।