काठमाडौं- वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन प्रणालीमार्फत् भुक्तानी गर्न सक्ने भएका छन्। वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।
सेवाग्राहीको सहजता तथा बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उदेश्यले कोषको रकम अनलाइन प्रणालीमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पेलगायत प्रणालीमार्फत कोषको रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले उल्लेख गरेको छ।
रोजगार नियमावली, २०६४ मा व्यवस्था भएबमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ। ३ वर्षको करार अवधिका लागि जाने हो भने प्रतिव्यक्ति २५ सय र २ वर्षको करार अवधिका लागि जाने श्रमिकले १५ सयका दरले कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ।
वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा विभिन्न जटिल प्रकृतिका रोगहरु लागेमा उक्त कोषमार्फत् सम्बन्धित श्रमिकलाई आर्थिक सहायता उपलब्ध गराइन्छ। श्रम स्वीकृति अवधिमा श्रमिकको मृत्यु भएमा निजका हकवालालाई समेत आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ। त्यसैगरी बोर्डले मृतक कामदारका छोराछोरीहरुलाई शैक्षिकवृत्ति समेत उपलब्ध गराउँदै आएको छ।
आर्थिक सहायताका लागि सम्बन्धित स्थानीय तहबाटै निवेदन दिन सकिनेछ। निवेदन प्राप्त भएपछि बोर्डले सम्बन्धित व्यक्तिको आर्थिक सहायता बापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।