सुर्खेत– सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको उपचार नपाएर मुत्यु भएको छ। कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनी सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन्। राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताए। बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ।
छिटो सुत्केरी गराउन नर्सले सुई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहको भनाइ छ। 'बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,' उनले भने।
सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ। अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा रातिसम्म पनि डाक्टर उपचारका लागि नआएको उनले बताए।
अस्पतालले लापरबाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। उपचारमा लापरबाही गर्नेलाई कडाभन्दा कडा कारबाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ।
फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु : अस्पताल
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन्। गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापरबाही नभएको डा खड्काको भनाइ छ।
उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरे। उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।