काठमाडौं– विशेष अदालतले ५ लाख रकमसहित पक्राउ परेका डिल्लीबजार मालपोत कार्यालयका ४ कर्मचारीलाई सफाइ दिने फैसला सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका ४ कर्मचारीलाई ५ लाख रुपैयाँ घुस लिइरहेको भन्दै २०७२ फागुनमा पक्राउ गरेको थियो। अख्तियारले उनीहरु विरुद्ध २०७२ चैत ५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरुलाई डिल्लीबजारको एक क्याफेमा सेवाग्राहीसँग रकम लिइरहेको अवस्था पक्राउ गरिएको आयोगको अभियोगपत्रमा दाबी गरिएको थियो। तर विशेष अदालतले उनीहरुसँग पक्राउ परेको रकम घुस भएको प्रमाण पेश नभएको भन्दै सफाइ दिएको हो।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द,चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाइ दिएको हो।
आयोगको टोलीले कार्यालयका नायव सुव्वाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोष्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई घुस लिँदा लिँदै पक्राउ गरेको दावी गरेको थियो । उनीहरुले काठमाडौं महानगरपालिका ८ गुहेश्वरीस्थित विभिन्न कित्ताहरूको १ सय ३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बागमती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल यकिन गर्न घुस लिएको दाबी आरोपपत्रमा उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।