काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक व्याख्या र सार्वजनिक सरोकारमा मुद्दाहरुमा बहससँगै त्यसको समाधान हुने गर्छ। तर बागलुङको एक विद्यालयमा प्रधानाध्यापक को हुने भन्ने विवाद पनि सर्वोच्च अदालत पुगेको छ।
बागलुङ बुर्तिबाङ उत्तरगंगा माविको प्रधानाध्यापक को हुने भन्ने विषयमा ढोरपाटन नगरपालिका र विद्यालय व्यवस्थापन समितिबीचको विवाद सर्वोच्चसम्म पुगेको हो। विद्यालयमा प्रअ बनाउने
अधिकार विद्यालय व्यवस्थापन समितिको हुने भए पनि नगरको कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै समितिको तर्फबाट प्रअ नियुक्ति विवाद सर्वोच्च पुर्याइएको हो।
विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा लामो समयदेखिको राजनीतिक खिचातानीले विद्यार्थीको पठनपाठनमा असर पर्दै आएको दाबी गर्दै नगरले चैत ४ गते वरिष्ठ शिक्षकलाई जिम्मेवारी दिएको थियो।
प्रधानाध्यापक धनबहादुर कुवँरले उक्त पदबाट अवकाश पाएपछि विवाद सुरु भएको हो। विद्यालय व्यवस्थापन समितिले नियुक्त नगरे पनि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनको पक्षमा आदेश गरेपछि प्रअ भएका थिए। उनले अवकाश पाएलगत्तै यो प्रकरण पुन: दोहोरिएको हो।
विद्यालयमा प्रअ नभएपछि पठनपाठनमा अवरोध भएको भन्दै नगरपालिकाले हस्तक्षेप गरेको थियो। नगरकार्यपालिकाको बैठकले चैत ४ गते वरिष्ठतम सूचीमा रहेका शिक्षक ईश्वरीप्रसाद पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो। उनलाई उक्त जिम्मेवारी सम्हाल्नु भन्दै पत्र समेत नगरले दिएको थियो।
नगरको उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समितिका तर्फबाट चुडाबहादुर कुँवरले सर्वोच्च गुहारेका हुन्।
विद्यालयमा लामो समयदेखिको प्रअ विवादले गर्दा शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर वृद्धि हुन नसकिरहेको तथा विद्यालयको समेत नकारात्मक सन्देश छाइरहेको भन्दै नगर प्रमुख देवकुमार नेपालीको सक्रियतामा पौडेललाई प्रअ बनाइएको थियो।
तर विद्यालय व्यवस्थापनले प्रअ छान्नुपर्नेमा कानुनत: अधिकार नै नभएको निकायले प्रअ बनाएको दाबी गर्दै कुँवर बैसाख १६ गते सर्वोच्च पुगेका हुन्। उनको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले स्थानीय निकायले कानुनको अधिकार नभएको अवस्थामा प्रअ नियुक्तको निर्णय गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। स्थानीय तहमा शिक्षक नियुक्त गर्ने वा प्रअ नियुक्त गर्ने सम्बन्धी कानुन हालसम्म निर्माण नभएकाले शिक्षा ऐन अनुसार प्रअ बनाउने कुरा विद्यालय व्यवस्थापनको हुने सर्वोच्च्को आदेशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।