चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान देश भएर पनि खानेबानीको समस्याका कारण अन्न अभाव हुने गरेको बताएका छन्। नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने,‘नेपालमा अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको हो।’
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज चितवनको रामपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेकोभन्दा चार गुणा बढाउनुपर्नेमा जोड दिए। उनले भने,‘यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता रहन्छ।’
राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने तर्क गर्दै ओलीले सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको बताए।
प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको धारणा व्यक्त गरे।
बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दीक्षित भएर जाने विद्यार्थीले राष्ट्र र जनताको हित अनुकूल काम गर्न आवश्यक रहेको बताए।
बैठकमा प्रस्ताव गरिएको दीक्षित हुने विद्यार्थीको नामावली पारित गरिएको थियो। बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।