काठमाडौं-उपत्यकामा रहेका सवारी कार्यालयहरुमध्ये सतुंगलस्थित मोटरसाइकल कार्यालय सञ्चालनमा आएको छ। दसैं बिदा सुरु हुनुपूर्व नै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको भन्दै उपत्यकाका सबै यातायात कार्यालय बन्द भएका थिए।
कात्तिक १२ गतेदेखि नै कार्यालय खुले पनि कर्मचारीमा कोरोना संक्रमण निको नभएको र कर्मचारी व्यवस्थापनमा समस्या भएकाले कार्यालय नखुलेको जनाइएकाे छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकलले मंगलबार (आज)देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको कार्य गर्ने जनाएको छ। कार्यालयले जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लटेका सवारीसाधनको ब्लुबुक नवीकरण गर्नेछ।
त्यस्तै प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरि प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ। यसबाहेक ब्लुबुकको प्रतिलिपी, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेज, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु नियमित रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ।
भक्तपुरको सल्लाघारी र सानो भर्याङमा रहेका सेवा कार्यालयसमेत मंगलबारदेखि खुलेका छन्। सेवा कार्यालयहरुले पनि जोरबिजोरका आधारमा सेवा दिने भन्दै सूचना जारी गरेका हुन्।
यता एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी भने कहिलेदेखि खुल्ने निश्चित भएको छैन। कार्यालयले हालसम्म सञ्चालनको विषयमा सूचना जारी गरेको छैन। धेरै जना कर्मचारी संक्रमित भएकाले आगामी सातादेखि कार्यालय खुल्ने गरि सूचना आउने कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।