काठमाडौं– सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने दुई यातायात व्यवसायी काभ्रेमा पक्राउ परेका छन्। काभ्रे मिनिबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकार र सदस्य नरेन्द्र हलुवाईलाई पक्राउ गरिएको काभ्रेका एसपी सहकुल थापाले बताए।
काभ्रेकै व्यवसायीबाट यसपटक सिन्डिकेटको आन्दोलन सुरु भएको छ। चैत १ गदेदेखि काभ्रेसम्म मयुर यातायातलाई रुट परमिट दिएपछि उनीहरुले आन्दोलन सुरु गरेका थिए।
उता, पश्चिम नेपाल बस व्यवसायी समितिका महासचिव पदम गाह र बुटवल यातायातका अशोक कुमार श्रेष्ठ पनि पक्राउ परेका छन्।
यसअघि पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेलाई बुटवलको ट्राफिक चोकबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। अन्य संघ र समितिका पदाधिकारीहरुको पनि खोजी कार्य भइरहेको एसपी ज्ञवालीले बताए।
यातायात समिति खारेज गर्ने र देशभरl रुट परमिट खुला गरेपछि व्यवसायीहरुले शुक्रबार गाडी ग्यारेजमा थन्क्याएका छन्। गाडी नचलाउने व्यवसायी पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि देशभर प्रहरी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।