वासिङ्टन (संयुक्त राज्य अमेरिका)- सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ। यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था भएकोमा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको हो।
इन्स्टाग्रामले यो विशेषता केही दिनमा नै लागू हुने जानकारी दिँदै इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ।
नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ।
त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्।
'तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ,' इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ।
आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ। -रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।