काठमाडौं- सांसदहरूका लागि वितरण गरिने संघीय संसद्को लोगो तयार भएको छ। सुधारिएको नयाँ लोगो तयार भएको र सांसदहरूलाई वितरण गर्न पनि थालिएको संघीय संसद् सचिवालयले जानकारी दिएको हो।
'सांसदहरूको नयाँ ब्याच आएको छ। अब माननीय सांसदहरूले लिन सक्नुहुन्छ। केही माननीहरूले लगाइ पनि सक्नु भएको छ,' सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले भने।
यसअघि वितरण गरिएको लोगो विवादित भई फिर्ता भएपछि घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले नयाँ लोगो बनाएर पठाएको हो।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गरिएपछि सोही नक्सा अंकित नयाँ लोगो बनाउन वितरण गरिएको थियो। तर सो लोगो आकर्षक नभएको भन्दै सांसदहरूले विरोध गर्दै फिर्ता गर्न थालेपछि संसद सचिवालयले सबै सांसदबाट लोगो फिर्ता लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।