काठमाडौं- कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा भारतसँग देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न माग गर्दै प्रदेश ७ को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
नेकपा माओवादी केन्द्रका प्रदेश ७ का इन्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका लागि सोलार तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ।
ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर, प्रदेश ७ का आर्थिक मामिलामन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पूर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुँवर र स्थानीय वडा अध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गरेका छन्।
भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तीको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएपछि भारतीय पक्षले भत्काएको छ। हात्ती आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो। हाल स्थानीय तहको बजेटबाट वडा अध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भइरहेको छ।
नेपाली भूमिमा तारबार गरिरहँदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताए।
भत्काइएको तारबार पुनः लगाउने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, प्रदेश ७ का विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सीमाको विषय समाधानका लागि गम्भीरताका साथ पहल गर्ने बताएका थिए। ज्ञापनपत्र परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ पठाइएको छ।
पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतमको मृत्यु भएको थियो। भारतीय पार्कबाट आएका हात्तीको आक्रमणबाट २०७३ माघमा बीचफाँटाका मनबहादुर सुनारको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।