काठमाडौं- पूर्व मनसुनी वर्षा (प्रि–मनसुन) सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।
प्रि–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको छ।
चार-पाँच दिनदेखि प्रि–मनसुनी गतिविधि सक्रिय रहेको तथा स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणालीको पनि प्रभावले बदली र वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए। 'अहिले भइरहेको मौसमी गतिविधि स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणनलीको पनि प्रभाव रहेको छ,' उनले भने, 'पूर्वी र मध्य क्षेत्रमा बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका साथै स्थानीय रुपमा न्युन चापीय प्रणालीको विकासले एक हप्तादेखि मौसमी गतिविधि बढेको हो। उनका अनुसार यो प्रक्रिया अझै एक-दुई दिन जारी रहन्छ।
महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ।
आज सबैभन्दा बढी भैरहवामा ६५, वीरेन्द्रनगरमा ३१, ओखलढुंगामा २०, दीपायलमा १७, ताप्लेजुङ र दाङमा समान ११ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा सबैभन्दा कम एक मिलिमिटर वर्षा भएको छ। अहिले पनि अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भइरहेको माहाखाले जनाएको छ।
मौसमविद्का अनुसार सामान्यतः प्रि-मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मानिन्छ। कहिलेकाहीँ यो तलमाथि पनि हुन सक्छ। प्रि-मनसुन मार्च, अप्रिल र मेलाई मानिन्छ। अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुन तथा डिसेम्बर, जनवरी र फेब्रुअरी विन्टर सिजन यसरी वर्षमा चार सिजन बाँडिएको हुन्छ।
प्रि-मनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ। खासगरी यसको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ। यसलाई सहयोग गर्न बंगालको खाडीको जलवास्पयुक्त हावा देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने र कहिलेकाहीँ पश्चिमी वायुको प्रभावले गर्दा विमान वा दिउँसोपख बदली र वर्षा गराउने हुन्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम १६ डिग्री सेल्सियस रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।