मुस्ताङ- मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारी तीव्र बनाइएको छ।
मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो। भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए।
बैसाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ। मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन्। थप एक हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताए। सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ।
आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ। मुक्तिनाथ समुद्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ। भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक ३ दिनका लागि खुल्ला गरिने भएको छ। ७६ किलोमिटर दुरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक ८ घन्टा बन्द गरिँदै आएको छ।
भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल—भारत सम्बन्ध जनस्तरमा अझै बलियो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरिक अगुवा चन्द्रबहादुर थकालीले बताए।
मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।