काठमाडौं- सरकारले छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा पुरानै भाडादर कायम गर्ने निर्णय गरेकाे छ। सरकारले सवारी साधनमा सबै सिटमा मान्छे राख्न दिने निर्णयपछि चैत ११ अगाडिकै भाडादर लागु हुने निर्णय गरेकाे हाे।
मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो।
असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरानै भाडादर कायम गरिएको बताए।
सार्वजनिक सवारी साधनको सिट क्षमताअनुसारको यात्रु बोक्न पाउने र भाडादर लकडाउन हुनुअघि अर्थात् चैत ११ गतेभन्दा अगाडिकै कायम रहने मन्त्रिपरिषद्को निर्णय रहेको उनले बताए।
त्यस्तै, आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागू गरिएको उनले बताए। आन्तरिक हवाई उडानमा समेत सिट क्षमताअनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।