बिहान सूर्य उदाउनभन्दा पहिला यमराजको बैठककक्षमा तीन जना नजिकका भरपर्दा दूतलाई बोलाइएको थियो। बैठक हलमा पुगेपछि दूतहरूले बिन्ती बिसाउँदै भने, 'महाराज हामीलाई किन बोलाइएको हो?'
यमराजले अरू सबलाई बैठक कक्षबाट बाहिर जान भने। अब कक्षमा यमराज र दूतहरू मात्र बाँकी थिए। यमराजको त्यो भीमकाय शरीरको मुखबाट के आदेश आउने हो भनी दूतहरू डरले काँप्न मात्र बाँकी थियो।
यमराजले तीनजना दुतलाई हेर्दै भने- तिमीहरूलाई एउटा मिसन दिँदैछु। अनुसन्धान गर्न राजी छौ?
यमराजको आदेशलाई नकार्ने हिम्मत कोसँग थियो र?
'जो आदेश प्रभु!' भनेर शीर झुकाए।
अनि सोधे, 'के मिसन होला महाराज!'
'तिमीहरू तीनजना अलगअलग भेष गरी नेपाल धर्तिमा गएर मिसन पूरा गर्नुपर्ने छ। जबसम्म मिसन पूरा हुन्न, एक आपसमा भेट हुन सक्ने अवस्था छैन,' यमराज महाराजको आदेश आयो।
सबै दूतहरु 'जो आदेश प्रभु' भनी आदेश शीरोपर गरे।
तीनजनालाई अलग काम दिएर धर्तिमा जान आदेश पाएपछि मिसनमा निस्किए दूतहरू।
तीनै जना धर्तिमा पुगे। उनीहरू आ आफ्नो मिसनमा काम गर्न सुरु गर्नु पर्ने थियो। धर्तिको अवस्थादेखि तीनै जना दूत अच्चमित थिए। जे जस्तो भएपनि यमराजले दिएको आदेश पूरा गर्नु थियो। तीन जना मिसन सक्नुअघि पुनः त्यही ठाउँमा भेट्ने गरी मिसनमा लागे।
केही दिनपछि तीन जना आआफनो मिसनको रिपोर्ट बनाएर जाने बेलामा जहाँबाट छुटेका थिए, त्यहीँ जम्मा भए। रिपोर्ट त यमराजको दरबारमा गएर सुनाउनु थियो।
दूतहरु यमराजको दरबारमा पुगे।
यसपाली भने यमराजले आफ्ना भद्रभलादमी देखिए।
सबै जनाको बीचमा पहिलो दूतलाई राजनीतिको विषयमा रिपोर्ट राख्ने आदेश दिए।
'जो आदेश हजुरऽऽऽ' भन्दै आफ्नो रिपोर्ट पेस गर्न थाले, 'महाराज यस विषयमा खोज गर्न अति गाह्रो रहेछ।आजभोलि यस नेपाल धर्तिमा अति मजाकिला अनि हिँडडुल गर्न नसक्ने मुखिया रहेछन्। आफ्नो लागि जे पनि गर्न तयार अरूको लागि फुस्स। इनका खुट्टा तन्नेहरु पनि कम् रहेनछन्। तीनतिरबाट उनलाई तानिँदो रहेछ। फेरि पनि मुखिया राजनीतिमा खेलाडी हुन सबैलाई समालेका रछन्। उनको फोटो पूजासम्म गर्नेहरू प्रशस्त रहेछन्। अनि उनलाई महरा बनाएर ढुकुटी खाली गर्दा रहेछन्। फेरि पनि बूढा मुखिया कुर्ची जोगाउन यी सबै जनालाई बचाउँदा रहेछन्।'
अर्कोतर्फ नाम मात्रको प्रतिपक्ष रु'च। प्रतिपक्षको आवाज जनताले शब्दसम्म पनि बुझ्दा रैनछन्। उनका पार्टीका अघौटेपछौटेले भने यस्तै बोले होला भनेर लख काटेर अर्थ लाउन कोसिस गर्दा रहेछन्।
मुखियाहरू के बोल्छन् बुझ्न नसकिने। युवाहरु कराउने मात्र। युवाका कुनै केही आवज नसुन्ने रहेछन् मुखियाहरू। मन्मर्जी रछ। अनि केही थरी भाग नपाएर पार्टी फुटाउने र जोड्नेमा रेकर्ड बनाउदै रहेछन्। सारांशमा मेरो रिपोर्ट यही हो महाराज!
यमराजले उनलाई बस्ने आदेश दिए।
'टी-ब्रेक' नलिइकनै दोस्रो रिपोर्ट दिन आदेश आइहाल्यो।
अब पालो थियो कानुन व्यवस्थाको रिपोर्ट पेस गर्ने। दूतले आफ्नो रिपोर्टको पन्ना पल्टाएर बेलिविस्तार लगाउन थाले।
'महाराज यहाँको कानुन दैवले जानून् भन्ने खालको रहेछ। अर्बौं घोटाला गर्नेहरू शानसँग घुम्दा रहेछन्। अनि सानातिना केस हुनेहरू जो दीनदुःखी छन्, उनीहरूमाथी दण्ड अनि सजाय खुब वर्षँदो रहेछ। स-साना बालिकाहरू सडकमा हिड्न सक्ने अवस्था झन् छँदैछैन। सधैँजसो बलत्कारका घटना पनि हुँदा रहेछन्। कानुनको आँखा बन्द रहेछ। जनता सडकमा छन्। 'बच्ची बचाउ' अभियानमा। तर त्यसको परिणाम निस्केको देखिएन।'
यति भनी ती दूतले पनि यमराजको सामुन्ने सिर झुकाए।
अब अन्तिम रिपोर्ट बाँकी थियो। तर टी-ब्रेकको कुरा थिएन।
जनताको अवस्था के छ त?
रिपोर्ट पेस गर्न दूत तम्तयार थिए। सुरु गरी पनि हाले।
महाराज! सबै कुरा बुझ्दै जाँदा मानिसहरू यसपाली बन्द रुममा थुनिएको देखियो। भोक अनि प्यासले पिरोलेको देखियो। रोग-शोक अनि महामारीको बीचमा आफूहरुलाई एक्लो महसुस गरेको पाइयो। न खाना, न उपचार। जनता मर्नु न बाँच्नु हुँदा पनि मुखियाहरुलाई भने कुनै कुरामा कमी देखिएन। सबै सुविधाहरू अनि पद पनि बाँडीचुँडी खाएको भेटियो।
तीनै जनाको रिपोर्ट सुनेपछि यमराजलाई पनि खुब रिस उठ्यो।
'अब के गर्ने त? अहिले यी सबै जनालाई लिएर आउँदा नि अलग राख्ने ठाउँ छैन। सबैसँग राख्यो भने यहाँको व्यवस्था पनि बिगार्छन् तिनीहरू। यसै पनि धर्तिबाट मानिस यहाँ आउने क्रम बढ्दो छ। यो अवस्था नर्मल भएपछि अन्तिम विकल्प भनेको यिनीहरुलाई यहाँ ल्याएर सजाय दिनु हो।'
सभा विसर्जन भो।
(पाल्पाको तानसेन स्थायी ठेगाना भएका कोइराला हाल यूएई बस्दै आएका छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।