काठमाडौं– चीनले हुम्लामा नेपाली सीमा नमिचेको दोहोर्याएको छ। चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको दाबी गर्दै हालै निर्माण गरिएका भवन चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन्। हालै निर्माण भएका भवनहरु चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुको दावी छ।
चिनियाँ सरकारको मुखपत्र ‘दि ग्लोबल टाइम्स’ सँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्भे र म्यापिङ गरेको बताएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सीमा अनुगमन गरेर प्रतिवेदन दिँदै सीमा मिचिएको भनिरहेका बेला चिनियाँ पक्षबाट यस्तो दावी आएको हो ।
‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ’ उनले भने ‘नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए। सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको उनले दावी गरेका छन्। चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।
चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्भेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले नेपाली सर्भे टिमले केही गल्ती गरेको हुनसक्ने बताएको छ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका थिए । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ।
नेपाल र चीनबीच सीमा विवाद समाधान भए पनि नेपाल र चीनले तीनवटा सीमाको संयुक्त अवलोकन गरेका र कुनै समस्या नपाइएको समेत चिनियाँ सरकारी अधिकारीको दावी छ।
समाचारमा सीमा विवाद चर्काइरहेको भन्दै नेपाली कांग्रेसलाई ‘प्रो–इन्डियन दल’ को रुपमा लिइने गरेको समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘भारतको नेपालसँग लामो सीमा विवाद रहेको छ ’ समाचारमा भनिएको छ, ‘सन् २०१९ मा भारतले नेपाली समेटेर नक्सा जारी गरेपछि दुई देशबीच विवाद सिर्जना भयो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।