काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने विशेष प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो।
विशेष साधारण सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयरबापत नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भयो। चुक्ता पुँजी चालिस करोड रुपैयाँ रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पूँजी १४.३७ अर्ब हुनेछ।
यससँगै संस्थापकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरू शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ। पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।