काठमाडौं- सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा विभिन्न संघ संस्थालाई सहयोग गर्नुका साथै विभिन्न अफर समेत सार्वजनिक गरेको छ।
विभिन्न संस्थालाई ६ लाख सहयोग गरेको बैंकले जानकारी दिएको छ भने सनराइज स्मार्टबाट प्लेनको टिकट खरिद गर्दा ५ सयसम्म क्यासब्याक सुविधासमेत प्रदान गर्ने बैंकले जानकारी दिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बाल मन्दिरलाई १ लाख ५० हजार, हावापानी सम्बन्धी उद्यमशीलता तालिम प्रदान गर्न हिमालय क्लाइमेट इनिसिएटिभलाई १ लाख ५० हजार र भानु माविमा ई-लर्निङ प्लाटफर्म बनाउन जोन्ट क्लबलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
वार्षिकोत्सवकै अवसरमा बसमा र प्लेनको टिकट सनराइज स्मार्टबाट खरिद गर्दा क्रमशः २ सय र ५ सय रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले बताए। यसैगरी भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्नेलाई ५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ। यो सुविधा बैंकका कार्ड होल्डरले मात्रै पाउनेछन्।
बैंकले नेपालमै पहिलो पटक मिसकलबाट एनइएको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ। कोभिडका कारण ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डिजिटल सेवालाई प्राथमिकता दिएको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।