काठमाडौं–बुद्ध एयरले पहिलो उडानको २३ औं वर्ष पूरा गरेको छ। सन् १९९७ मा आजकै दिन अर्थात् ११ अक्टोबरका दिन नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो। यसले उडानको सुरुवातमै अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो।
बुद्ध एयरसँग अहिले १३ जहाज तथा ११०० कर्मचारी छन् भने लाखौं स्वदेशी तथा विदेशी यात्रु जोडिन आइपुगेका छन्।
२३औं वर्ष पूरा गरेको अवसरमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिड–१९ का बेला संक्रमणरहित तथा सुरक्षित तवरले सेवा दिइरहेको जनाएका छन्।
उनले अब एकसय सीट क्षमताको जहाजलाई भारतीय प्रायद्वीप तथा चीनका नजिकका गन्तव्यलाई केन्दित गरेर भावी उडानको योजना बनाइरहेको र धनगढी–विराटनगर, विराटनगर–पोखराजस्ता एक घन्टाको उडान समय रहने गन्तव्यका लागि गृहकार्य गरिरहेको जनाएका छन्।
यस्तै, दुर्गम उडानका विषयमा पनि जहाजहरूको मूल्यांकन गरिरहेको उनले जनाएका छन्।
उनले लकडाउनको झण्डै ६ महिना आम्दानी शून्य भएको अवस्थामा पनि ११०० कर्मचारीलाई नियमित रूपमा तलब बाँडेको र आफूहरुको पहिलो प्राथमिकता कर्मचारी रहेको उल्लेख गरे। यस दौरान १ जना कर्मचारी पनि कटौती नगरि आवश्यक सबै तालिम सम्पन्न गरिएको उनले जनाएका छन्।
बुद्ध एयरले लकडाउनको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो, जुन नेपालमै कोभिडविरुद्धको पहिलो निर्देशिका थियो। कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गर्यो । यसका साथै बुद्धले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गर्यो।

२१ सेप्टेम्बरबाट उडान सञ्चालन भएपछि बुद्ध एयरले भाडादरमा ठूलो कटौती गरेको छ। निम्नमध्यम आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने एकमात्र उद्देश्य रहेको बुद्ध एयरले जनाएको छ।
यस्तै, आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई केन्दित गर्दै प्याकेजहरु पनि ल्याएको छ। विदेशीका लागि यी दुई गन्तव्य निकै महत्वपूर्ण छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।