इस्लामावाद- सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ। चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो।
'अनैतिक सामग्री' भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन्। चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ।
टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेका उनीहरुले बताएका छन्।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ।
मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उल्लंघन गरेको उजुरीकर्ताहरुको दाबी छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।