काठमाडौं–अनशनरत डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीका सदस्य तथा अधिवक्ता ओमप्रकाश अर्यालले सरकार इमान्दार नहुँदा वार्ता असफल भएको बताएका छन्। माइतीघर मण्डलामा आज मध्यान्ह आयोजित विरोध कार्यक्रममा बोल्दै अर्यालले वार्ता गर्ने भनेर बस्ने तर जिम्मेबार व्यक्ति र मन्त्रीहरु भाग्ने काम भएको बताए।
‘हामीलाई वार्तामा आउनुस् भन्नुभयो, हामी गयौं, तर शिक्षामन्त्री गिरिराजमणि पोखरेल मोबाइल स्वीचअफ गरेर हिडनुभयो, हामी सिंहदरबार जाने र उहाँ बाहिर निस्कने एकैपटक भयो,’ अर्यालले भने, ‘हामीलाई बोलाएर उहाँ हिड्नुले डा केसीको माग पुरा नगर्ने षडयन्त्रमा शिक्षामन्त्री रहेको देखिन्छ। नेपाली जनताले वुझ्नु पर्छ उहाँल डा केसीको जीवन जोखिम पार्ने काम गर्नु भयो। ’
केसीको माग पूरा गर्न दबाब दिनका लागि आन्दोलनको कार्यक्रम अब घोषणा हुने उनले बताए। सबै राजनीतिक दलहरु र नागरिक समाजले डा केसीका बारेमा बोल्न पर्ने समय आएको उनले बताए। ‘संविधान र मौलिक हकसम्वन्धी विषय पनि भएकाले दलहरुलाई हामीले आग्रह गरेका छौं,’ अर्यालले भने, ‘हामी वार्ताको विरोधी हैनौँ। जुनसुकै समयमा तयार छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।