काठमाडौं- आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सवारी साधनको खरिदमा सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट यस्तो सुविधा पाउनेछन्।
भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका ‘डस्ट मोडल’ का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ। यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको सम्झौतापत्रमा उल्लेख छ।
त्यस्तै सम्झौताअनुसार यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह हुनेछ।
एलसिभी सेग्मेन्टअन्तर्गत डस्ट मोडलका सवारी साधनहरू जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर मैला संकलन, एम्बुलेन्स साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।