काठमाडौं–पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको सांसद पद फुकुवाको आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले मुद्दालाई अग्रााधिकार दिँदै कारण देखाउ आदेशमात्र जारी गरेको छ। तर सर्वोच्चले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दुवै पक्षको छलफलपछि निर्णय दिने भन्दै अन्तरिम दिन अस्वीकार गरेको हो।
उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट निर्वाचित भएका थिए। देशभरका पुल निर्माण अलपत्र पारेको पप्पुका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। २०७५ असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेलगत्तै उनी निलम्वनमा परेका थिए। करिब २ वर्ष निलम्वनमा परेपछि उनी सर्वोच्च आएका थिए। उनको निवेदनमा सर्वोच्चले रौनियारको पद निलम्बनमा राख्नुको कारण भने पेश गर्न सरकार ,संघीय संसद र अख्तियारलाई भनेको छ।
दुई वर्षअघि आयोगले पप्पु कन्ट्रक्सन र त्यसका मालिक रौनियार, उनका छोरा सुमितसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार मुद्दा लागेपछि स्वतः सार्वजनिक पद निलम्बिन हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको पद निलम्बनमा परेको जानकारी आयोगले संसद सचिवालयलाई गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।