काठमाडौं–कोभिड–१९ सहित अन्य महामारीका बेला आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सदस्य मुलुकबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यमा सहकार्य गर्न सार्क सदस्य मुलुक सहमत भएका छन्।
बिहीबार गरिएको सार्क शिक्षामन्त्रीस्तरीय भर्चुअल बैठकमा सदस्य मुलुकहरु सहकार्यमा सहमत भएका हुन्। कोभिडले यस क्षेत्रमा पारेको प्रभावका बारेमा परराष्ट्र मन्त्रालय तथा सार्क सचिवालयको सहकार्यमा शिक्षा मन्त्रालयले बिहीबार भर्चुअल बैठक आयोजना गरेको हो।
बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनः सञ्चालन, शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामाग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषय समेटिएको शिक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। यसका साथै शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नु पर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीय स्तरमा सामूहिक तत्परताको विकास गर्ने उल्लेख गरे।
बैठकमा सदस्य राष्ट्रहरूबाट आ–आफ्नो देशमा कोभिड–१९ को संक्रमणले सृजना गरेको शैक्षिक समस्या तथा चुनौतीका बारेमा उल्लेख गरिएको थियो। नेपालको शैक्षिक अवस्था र प्रयासहरूको सन्दर्भमा सचिव गोपीनाथ मैनालीले प्रस्तुति दिएका थिए। बैठकको सुरुमा सार्कका महासचिव इसाला रुवान विराकुनले सार्क मुलुकमा कोभिड १९ को संक्रमणबारे चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।