काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको उच्च सरकारी अधिकारीको टोलीले नेपाल र चीन जोड्ने रसुवागढी नाकाको स्थलगत निरीक्षण गरेको छ।
विहीबार भन्सार विभागका महानिर्देशक सुमन दाहाल, परराष्ट्र मन्त्रालयका सहसचिव र गल्छी-रसुवागढी सडक आयोजना प्रमुख सहितको टोलीले नाकाको स्थलगत निरीक्षण गरेको हो।
रसुवागढीमा भएको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले रसुवागढी नेपाल र चीनको प्रमुख व्यापारिक नाका हुनुको अतिरिक्त त्यस स्थानको भौगोलिक र ऐतिहासिक महत्व रहेको उल्लेख गरेका छन्। उनले चीनको केरुङ जोड्ने यो नाकासम्म पुग्ने सडकमार्गको छिटो स्तरोन्नति सक्न निर्देशन पनि दिएका छन्।
धादिङको गल्छीबाट नुवाकोट सदरमुकाम विदूर हुँदै रसुवागढी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढिरहेको छ। यो बाटो काठमाडौंलाई चीनको केरुङ जोड्ने सबैभन्दा छोटो बाटो हो। गल्छीबाट स्याफ्रुबेसी जोड्ने सडक स्तरोन्नति नेपाल सरकारको लगानीमा स्तरोन्नति भइरहेको छ भने स्याफ्रुबेसीबाट रसुवागढी जोड्ने सडक चीको सहयोगमा स्तरोन्नति भइरहेको छ।
मन्त्री ज्ञवालीले रसुवागढीमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण पनि छिटो सक्न निर्दशन दिएका छन्। दुई वर्ष अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली पनि रसुवागढी पुगेको थियो।
नेपाल र चीन जोड्ने प्रमुख नाकामध्ये सञ्चालनमा रहेको एउटा नाका यो पनि हो। भारतीय नाकाबन्दीका बेला चीनले अनुदानमा दिएको १० लाख लिटर पेट्रोल सरकारले यही नाका हुँदै नेपाल भित्र्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।