काठमाडौं- बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सर्वोच्च अदालत आइपुगेका छन्। बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले गरेको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिएका थिए। बिहीबार उनको निवेदनमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले जिल्ला र उच्चको आदेश मगाएको छ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलाशले सिद्धबाबाको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो। यसअघि सुरुमा जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। जिल्लाको आदेशले उनी छुटेका थिए। लगत्तै उच्च अदालत विराटनगरमा सरकारी पक्षले निवेदन दिएको थियो।
उक्त निवेदनमा सुनुवाई गर्दै उच्च अदालत विराटनगरले २०७६ माघ ९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै उच्चले थुनामा राख्ने आदेश गरेको थियो। उच्चको उक्त आदेश बदर हुुनपर्ने भन्दै कोभिड- १९ को समयमा बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने उनको दावी थियो। सर्वोच्चले यसअघिका आदेश हेरेर निर्णय गर्ने भन्दै उच्च र जिल्लाको आदेश र फाइल मगाउने निर्णय गरेको हो।
बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरेको थियो।
१४ पुसमा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो। सिद्धबाबाले उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा असोज १८ गते निवेदन दिएका थिए। साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै उनले निवेदन दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।