काठमाडौं–जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन एक÷दुई दिनभित्रै बाहिरिने जनाएको छ। पूर्वी क्षेत्रमा सामान्य न्यूनचापीय क्षेत्रको विकास भएकाले मनसुन बाहिरिन ढिला भएको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।
‘मनसुन निकै कमजोर भईसकेको छ । पूर्वी क्षेत्रमा सामान्य न्यूनचापीय क्षेत्र विकास भएकाले मनसुन बाहिरिन ढिला भएको हो’ अर्यालले भने, ‘पश्चिमी वायुको प्रभाव बढ्न थालिसकेकाले एक/दुई दिनमा मनसुन बाहिरिने सम्भावना छ।’
मनसुनी वायु कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना न्यून रहेको अर्यालले बताए। यस वर्षको मनसुन गत जेठ ३० गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। मनसुन कमजोर हुन थालेपछि काठमाडौंलगायत देशभर तापक्रम घट्न थालिसकेको छ। काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम बुधबार १८ डिग्री भएकोमा बिहीबार १५ डिग्रीमा झरेको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।