काठमाडौं- २४ दिनयता अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको मन्त्रालयले जानकारी दिएको हो।
मैनाली नेतृत्वको टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा सदस्य रहेको मन्त्रालयले उल्लेख गरेको छ।
वार्ता टोलीका सदस्य डा शर्माले बिहीबार डा केसीसँग छलफल गर्ने तयारी भएको जानकारी दिए। 'उहाँको मागका विषयमा भोलि छलफल हुनेछ,' नेपाल लाइभसँग उनले भने।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा केसीलाई मंगलबार मात्र सचिव मैनालीले भेट गरी अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने आफ्ना माग पूरा नहुन्जेलसम्म अनसन फिर्ता नलिने जवाफ सचिव मैनालीलाई दिएका थिए।
डा केसीको स्वास्थ्य अवस्था कमजोर भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।