काठमाडौं- प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरीले वैधानिकता प्राप्त गरेको छ। बुधबार प्रदेशको नाम र राजधानीको विषय प्रकाशन भएपछि यसले वैधानिकता प्राप्त गरेको हो।
यसअघि प्रदेशसभाले दुई तिहाइ बहुमतले राजधानी दाङकाे देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेकाे थियाे।
प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।
त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको छ। मतदानमा ८३ जना उपस्थित थिए। २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो।
संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ। भनिएको छ- यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।
त्यस्तै, धारा २९५ (२) मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।