काठमाडौँ– प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले सीमा समस्या, राष्ट्रिय दृष्टिकोण र नीतिगत स्पष्टताबारे प्रश्न उठाएका छन् ।
यस क्रममा प्रमेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको स्पष्ट भू-भाग भएको विषय नीति तथा कार्यक्रममा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने आवश्यकता औँल्याए । उनले ती क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने ठोस प्रतिबद्धता समावेश हुनुपर्ने मागसमेत राखे ।
हमालले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्ने सामान्य उल्लेख मात्र पर्याप्त नहुने भन्दै सरकारको दृष्टिकोण अझ स्पष्ट हुनुपर्ने बताए । साथै, नेपाललाई ‘बफर स्टेट’ का रूपमा उल्लेख गरिएको विषयप्रति उनले असहमति जनाए । उनका अनुसार नेपाल कहिल्यै पनि बफर स्टेट हुन नसक्ने र नहुने धारणा पार्टीगत रूपमा पनि स्पष्ट रहेको छ ।
सांसद हमालले नीति तथा कार्यक्रममा स्पष्ट दीर्घकालीन दृष्टिकोणको अभाव देखिएको टिप्पणी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्नुपर्ने धारणा राखे पनि त्यसअनुरूप नीति तथा कार्यक्रम नदेखिएको बताए ।
उनका अनुसार सरकार आफ्नै घोषित प्राथमिकताबाट पनि दूरीमा पुगेको देखिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । उनले नीति निर्माणका लागि स्पष्ट मार्गदर्शन र दृष्टिकोण अपरिहार्य हुने भन्दै त्यसबिना नीति तथा कार्यक्रम प्रभावकारी नहुने धारणा राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।