काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र उनको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।
'लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन लगायतका माग राखी पछिल्लो पटक गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ', आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
डा केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयको टोलीले बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको पनि आयोगले जनाएको छ। 'निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको छ', विज्ञप्तिमा भनिएको छ।
आयोगले डा केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको पनि बताइएको छ। 'चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो आधारभूत मानव अधिकारको विषयमा नेपाल सरकार र डा केसीबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सार्वजनिक गर्न तथा निजको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।