काठमाडौं- आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैन्ड र सनराइज बैंकबीच सहुलियतपूर्ण ऋणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, जनकशर्मा पौडेल र आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट सहुलियतपूर्ण कर्जाहरु प्राप्त गर्ने भएका छन्। भारतीय कम्पनी अशोक लेलैन्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तीमा खरिद मूल्यको ६० प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सुविधा छ।
यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ। यो सुविधा अशोक लेलैन्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ। अब आइएमई मोटर्सका कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत् सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताए। कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्रान्ड अवेरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने सम्झौतापत्रमा उल्लेख छ।
अशोकका एसिभी सेग्मेन्ट अन्तर्गत डस्ट मोडलका सवारी साधनहरू विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।