काठमाडौं–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डा गोविन्द केसीको माग छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै कोइरालाले केसीका मागप्रति राज्य निर्मम र कठोर बनेको भन्दै आलोचना गरेका छन्।
‘लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिँदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने?’ उनले भनेका छन्।
चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको अस्पतालले जनाएको छ।
चिकित्सकहरूले डा केसीको अवस्था खराब हुँदै गएको बताए पनि उनले कुनै उपचार लिन मानेका छैनन्।
उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्। सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।