काठमाडौं–अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले पाँच करोड ५० लाख रुपैयाँ असुल गरेको छ। कामपाले यस प्रणालीको सुरुवात यही असोज १ गतेदेखि गरेको हो। सुरुवाती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ ।
कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारी राजस्व सङ्कलनमा पारदर्शी नभएको भनेर कामपालाई लागेको आरोपको जवाफ यो प्रणालीको कार्यान्वयनले दिएको बताउछन्। यस कार्यको सुरुआतसँगै कामपालाई कर्मचारीको व्यास्थापन र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै निर्देशक अधिकारी सेवाग्राहीलाई पनि सहज भएको बताउछन्।
यो प्रणाली साङ्ग्रिला इन्फरमेटिक्सले विकास गरेको हो। यही असोज १ गतेदेखि वडा नं १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।यसैगरी असोज १३ गतेदेखि वडा नं ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइएको थियो। अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।
यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका तथा माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो भनेर करदातालाई थाहा हुन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।